काठमाडौँ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) शुरु हुदैँछ ।
धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएशन धनकुटाले जानकारी दिएको छ । आयोजकका अनुसार महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको जनाएको छ ।
‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए । उनले भने “आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो ।”
महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् । महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीय ठाउँ समेटेर चार हजार छ सय रुपैयाँ बराबरको भ्रमणको प्याकेज समेत मिलाइएको वडा १ का अध्यक्ष वङ्दा तामाङले जनाएका छन् ।
पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

