काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि शानदार जित निकालेको छ । गुजरातले ९० रनको लक्ष्य दिएको खेलमा दिल्ली ६ विकेटले विजयी भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको झिनो लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा नटआउट रहे । गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए ।

त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।दिल्लीका लागि मुकेश कुमारले २.३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका थिए । इशान्त शर्माले २ ओभरमा ८ रन दिदै २ विकेट लिए । ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।