काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

गएराती पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले ७ बलमा अविजित १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । साउदीका लागी अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो तर साउदी नेपालसँग पराजित भएसँगै हहङकङ सेमिफाइनलमा पुगेको हो ।
आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्याे । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
