काठमाडौँ । लखनउ सुपर जाइन्टले गएराति भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

डि कक र केएल राहुले पहिलो विकेटका लागि १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन तथा डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रन जोडे । त्यस्तै निकोलस पुरन २३ रन र मार्कुस स्टोनिसले ८ रनमा नकआउट रहे । चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रण पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । रविन्द्र जडेजाले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ५७ रन बनाए । अजिन्के रहानेले ३७, मोइन अलीले ३० र रितुराज गायकवाडले १७ रन बनाए । त्यस्तै महेन्द्रसिंह धोनीले सनसनीपूर्ण ब्याटिङ गर्दै ९ बलमा २ छक्का ३ चौकाको मद्दतमा नटआउट २८ रन जोडे भने अन्य ब्याटर भने चलेनन्। लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले समान १ विकेट लिए ।

यो लखनउको चौथो जित हो । समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स दोस्रो, चेन्नई तेस्रो, सनराइजर्स हैदरावाद चौथो र लखनउ पाँचौं स्थानमा रहेका छन् । १२ अंकसहित राजस्थान रोयल्स शीर्षस्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। खेल बेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ।