काठमाडौँ । जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउनुभयो ।

प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका हुन् । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ । राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो । त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानसँगको सम्पर्क पनि टुट्यो ।

“उद्धारकर्मीहरूले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई वटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ”, रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भन्नुभयो, “अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसको उद्धारका लागि प्रयास गर्नेछौँ ।”

गत वर्ष अप्रिलमा दक्षिणी ओकिनावाको मियाको टापुमा सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । जहाजमा दुई पाइलट, दुई मेकानिक र एक आर्मी जनरल र अन्य गरी १० जना सवार थिए । तिनीहरू सबैको मृत्यु भएको थियो ।

त्यस्तै जनवरी २०२२ मा पनि मध्य इशिकावामा एउटा लडाकु विमान पानीमा खसेको थियो । त्यसमा बसेका दुई पाइलटको मृत्यु भएको थियो । यति मात्र होइन, २०१९ मा उत्तरपूर्वी जापानबाट तालिमका लागि उडेको स्टेल्थ जेट समुद्रमा खसेको थियो ।

गत वर्ष नोभेम्बरमा अमेरिकी सेनाको ओस्प्रे सैन्य विमान जापान नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।

प्रसारक एनएचकेले वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको एमएसडिएफले जनाएको बताएको छ । यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । पछिलो समय चीनको आक्रामकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।