काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ माथि विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन प्रहार गरे । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए भने ४७ बलमा शतक हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो । दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे । वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक-कोयले समान २-२ विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन र केसी कार्टीले २६ बलमा ३८ रन जोडे । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो ।

यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।