काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले पराजित गरेको छ । जितका लागि २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको योगदान दिए । सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन प्रहार गरे । दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र  २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हिकाए । त्यस्तै, ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन तथा साई होपले १७ बलमा ४१ रनको योगदान दिए । अभिषेक पोरेलले २७ बलमा ३६ रन तथा ऋषब पन्तले १९ बलमा २९ रन बनाए ।

त्यस्तै, शनिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेट्टायो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे । यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे । जोस बटलरले ३४ तथा यशस्वी जैसवालले २४ रन जोडे । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १-१ एकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो । लखनऊका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक ७६ रन जोडे । यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे । आयुष बडोनीले १८ रनमा अविजित रहे । राजस्थानका सन्दिप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १-१ विकेट लिए ।

१० खेलमा दिल्लीको यो पाँचौँ जित हो । टोली १० अङ्कसहित लिगमा पाँचौँ स्थानमा छ । उता छैटौँ हार बेहोरेको मुम्बई ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । राजस्थान ९ खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ । लखनऊ भने ९ खेलमा १० अंक सहित चौथो छ ।

आईपिएलमा आज हुने दिनको पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।