काठमाडौँ । जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपालको भ्रमणमा आउने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा मे ५ तारिख अर्थात् आउँदो आइतवार नेपालको औपचारिक भ्रमणमा आउन लागेकी हुन् ।
परराष्ट्रमन्त्री कामिकावाले ‘ग्लोबल साउथ’ मा रहेका सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारका लागि आफ्नो भ्रमण केन्द्रित रहने बताएकी छन् ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा कुनै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धका बारेमा हुनेछ ।
जापानका परराष्ट्रमन्त्री कामिकावाले नेपालसहित मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंकाको भ्रमण गर्ने कार्यसूचीअन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लाग्नुभएको हो । उहाँ आइतवार नै काठमाण्डौबाट फर्कनु हुनेछ ।
