काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए ।

एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई नेकपा एमाले २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थन रहेको छ । यस्तै नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत्र २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले वैशाख १७ गते खारेज गरिदिएपछि अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १६८ को उपधारा (४) मा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

सर्वोच्चले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै रिट खारेज गरिदिएपछि विश्वासको मत लिने सवालमा बहुमतका लागि कति संख्या जरुरी हो भन्ने विषयमा पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका छन् ।