काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो। उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ। न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन। बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो।
यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो। यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको थियो।
पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो। लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्।
जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए।
