काठमाडौँ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताउनुभयो । नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।
आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् । ‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने ।
