काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ। बालुवाटारमा साँझ साढे ५ बजेदेखि बैठक भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले छन्। सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णप्रसाद सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक  रमेश लेखक पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनीहरूबीच सदन खुलाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । त्यसअघि बिहान मात्रै कांग्रेससँग छलफल गरेका थिए । बिहानको छलफलपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका थिए। 

अहिले कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । 

त्यस्तै प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *