काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । सांसद केसीलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी हुन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री रहेका छन् । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ ।
