काठमाडाैँ । गोदावरी नगरपालिका, ललितपुरका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै पदीय जिम्मेवारीबाट निलम्बनमा परेका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।

राजस्व चुहावट गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र तत्कालीन प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा गोदावरीको ढुं‌गा-गिट्टी र बालुवाको बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानीनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ।

मेयर र उपमेयर नै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ । यस विषयमा स्थानीय शासन सञ्चालन ऐन २०७४ समेत मौन रहेको छ ।

कुनै पनि ऐन, कानुनले मेयर र उपमेयरको एकैपटक निलम्बनको कल्पना नगरेकाले अब कार्यवाहक मेयर को बन्ने भन्ने अन्योल भएको हो । केहीले अब ज्येष्ठ वडाध्यक्षले कार्यवाहक मेयरको भूमिका निभाउने तर्क गरेका छन् ।