काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

अफ्रिकामाथि दबदबा बनाएको नेपालले अन्तिम ओभरमा सम्हालिन नसकेपछि एक रनले हारेको हो । यो हार पछि नेपाल दक्षिण अफ्रिकालाई हराउँदै सुपर आठमा पुग्ने सपना कायमै राख्न असफल भएको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २४ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै २७ रन जोडे । कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन जोडे भने अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो । दक्षिण अफ्रिकाका लागि शम्शीले ४ ओभरमा १९ रन मात्र दिएर ४ विकेट लिए । मार्क्रमले २ ओभरमा ८ रन दिएर १ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चार ओभर बलिङ गर्दै २१ रन खर्चिएर तीन विकेट लिए भने यता चार ओभर बलिङ गरेर १८ रन मात्र खर्चिएका सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्।

समूहका सबै ४ खेल जितेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *