काठमाडौँ । टी–२० क्रिकेटमा नेपालका सन्दीप लामिछानेको एक सय विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको आजको खेलमा २ विकेट लिदै सन्दीपले सयौं विकेट पूरा गरेका हुन् ।
सन्दीपको यो टी–२० को ५४ औं खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । छिटो एक सय विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका कप्तान रसिद खान छन् । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप दोस्रो खेलाडी बनेका हुन् । यसअघि दक्षिण अफ्रिकासँगको खेलमा उनी विकेटबिहिन भएका थिए । उनले त्यो खेलमा ४ ओभरमा १८ रन खर्चेका थिए ।
जारी विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए । नेपाली टोली सेन्ट भिन्सेन्ट आउनु अघि नै सन्दीप यहाँ पुगिसकेका थिए ।
