देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।
आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा मधेस प्रदेशका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले दिउँसो भारी वर्षाको सम्भावना नरहेको जानकारी दिएको छ।
राति भने कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मध्यम र वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्न सक्ने जनाएको छ। महशाखाका अनुसार कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको पनि जलसतह बढ्ने सम्भावना छ।
