एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले १ विकेटको क्षतिमा ११.५ ओभरमा पूरा गर्यो। पाकिस्तानका लागि गुल फेरोजाले ३५ बलमा १० चौका सहित सर्वाधिक ५७ रन बनाइन्। यस्तै अर्की मुनीबा अलिले ३४ बलमा ८ चौका प्रहार गर्दै ४६ रन नटआउन रहिन्। नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
त्यसअघि श्रीलंकाको डम्बुला स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ६ विकेट गुमाएर १०८ रन बनाउन सक्यो। नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाइन्। यस्तै ओपनर सीता राना मगरले ३० बलमा ३ चौका सहित २६ रन बनाइन्। पूजा महतोले २५ कविता कुँवरले १३ र रुविना क्षेत्रीले ८ रनको योगदान दिइन्। पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट लिन सफल रहिन् ।
समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको थियो।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएई र नेपालले भारतको सामना गर्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ । नेपालले मंगलबार भारतसँग खेल्नेछ।
