नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज बिहान सञ्चालक समितिको बैठक बोलाएको स्रोतका अनुसार बताइएको छ ।

अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा.युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । 

मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए ।

त्यस्तै गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *