हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
कोशी, मधेस र बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। ती क्षेत्रमा हुन सक्ने प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

