बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।
घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याएकोमा डाक्टरले सर्पको टोकाइबाट ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्याएको जनाएको छ।
विहीबार नै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्दै आएकी छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र थप उपचारका लागि बर्दिया अस्पताल पुर्याउँदा डाक्टरले जाँचका क्रममा सर्पले टोकेको आशंका गरेका थिए। हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए।
