आज २१ औँ निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । निजामती सेवा दिवस २२ भदौको दिन सरकारले वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गर्दछ ।
निजामती सेवा नियमावली २०५० को नियम ११६ क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो। उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।
२०१३ साल भदौ २२ गते पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । आज २१ औँ निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।
आज शनिबार सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।
पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन ।


