जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले ५७ वर्षीय उपेन्द्र सहनी वडाध्यक्ष, ५२ वर्षीय उपेन्द्र साह वडा सचिव र ४५ वर्षीय विजय मण्डललाई साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी उपसचिव तुलसी राम पौडेलका अनुसार उनीहरूलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए । घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ ।

वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस र रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।