श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मंगलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन्। राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उनको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन्। तर सन् २०२२ को आर्थिक मन्दीले श्रीलङ्काका लाखौँ नागरिकलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो।

आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका लागि ५४ वर्षीया सांसद हरिनी अमरसुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ।

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहुन्छ। श्रीलङ्कामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो।

उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीको खबरमा उल्लेख छ। आफ्नो कार्यकालमा श्रीलङ्काको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताउनुभयो।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ।

“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आईएमएफका एक प्रवक्ताले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *