सर्लाही जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति २ बजेतिर एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

बिहीबार राति हरिपूर्वा नगरपालिका- ५, हरिपूर्वा निवासी अन्दाजी २७ वर्षीय धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। 

प्रहरीले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरेको छ।

घटनामा संलग्न व्यक्तिले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल मलंगवामा उनको उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *