सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो ।

यस्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने सदस्यसचिव घिसिङले बताउनुभयो।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए। त्यस अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपविजेता बनेको महिला फुटबल टोलीलाई काठमाण्डौ महानगरपालिकाले गएराति नै टोलीका हरेक खेलाडीलाई एक लाख र टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ।