चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतस्थित चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाकाे पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रशारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।
चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ।
नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्क बहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकैवेला जोड्न सकिने बताए।
चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेशन पनि हिजाे नै चार्ज गरिएको हाे। याे सबस्टेशनमा २ सय २० र १ सय ३२ केभी, १ सय ६० एमभीएका दुई वटा बैंक गरी ३ सय २० एमभीए र १ सय ३२/३३ केभीतर्फ ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन्। आयोजनाअन्तर्गतकै त्रिशूली थ्री बी हब २ सय २० केभी क्षमताको सबस्टेशन यसअघि नै सञ्चालनमा थियो।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ।
अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ। आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ।
प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ सालको पुसमा कार्यान्वयनमा आएको थियो।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। प्रसारण लाइन समुद्री सतहदेखि ६ सय ८० देखि २६ सय मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ। ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो।
ती ठाउँसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो। आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको छ। हेलिकप्टरबाट समेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो।
भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गा, गिटी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी पहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयवासीको अवरोध, कोभिड–१९ सङ्क्रमण, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो।
