प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर तुलसीलाई ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ।

एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ, उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ। त्यस्तै काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ। सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *