भोलीदेखि नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भर्चुअल रुपमा यसको उद्घाटन तीन देशका ऊर्जामन्त्रीले गर्ने भएका छन्।

नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ। तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन। त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातकाे उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलि दिउँसो पौने १ बजे भर्चुअल समारोहमार्फत बङ्गलादेशमा बिजुली पठाउने कामको शुरुआत हुँदैछ’, घिसिङले भन्नुभयो।

घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताए। उनले भने, ‘भारतबाहेक पनि नेपाल विद्युत् व्यापारको सम्भावना देखाउने यो बलियो माध्यम हो। यसले नेपालमा ऊर्जा व्यापारमा ठुलो सम्भावना देखाएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *