चालु आर्थिक वर्षको मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो आ.व. २०८१/८२ को पाँच महिनायताकै सबैभन्दा बढी हो।
वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ८४ हजार २२७ जनाले र असोजमा सबैभन्दा कम ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन्। साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ जना र कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आ.व.को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको हो। गत आ.व.को यो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकोमा चालु आ.व.को यो अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ। यो सङ्ख्या गत आ.व.को तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो।
आ.व. २०८१/०८२ मा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः जानेको सङ्ख्या धेरै भएकाले पनि विगतको तुलनामा सङ्ख्या बढेको उनले बताए।
मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आ.व.देखि नै यूएई, कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ।
