रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ। कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो।
कोलकाताले दिएको एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो। आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए। साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए। कप्तान रजत पाटीदार ३४ रनमा आउट भए। कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो। कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए। उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए। दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर राहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे। सुनिल नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रनमा आउट भए। बेंङ्गलुरुका कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए।
१८ औँ संस्करणको आईपीएल क्रिकेट हिजोदेखि शुरु भएको हो । आज दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
