इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तीव्र गतिका बलर मिचेल स्टार्कको ५ विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ।
हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटल्सले ७ विकेटले पराजित गरेको हो। विशाखापटनममा भएको खेलमा हैदराबाद टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभर ४ बलमै १६३ रनमा समेटियो।
हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन बनाएका थिए। ३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे। क्लासेनले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे। दिल्लीका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। यस्तै कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए।
१६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे। उनले २७ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९.१ ओभरमा ८१ रनको साझेदारी गरे। ।
जेकले ३२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडे। अभिषेक पोरेल १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे। केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे। हैदराबादका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो।
हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो। १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।
