वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको ९७ वर्षीय रिसालको राति पौने ८ बजे निधन भएको हो।

उनको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थियो। उनका भाइ पुरु रिसालका अनुसार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लैजाने तयारी छ।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए। 

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।