इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो सानदार जित हात पारेको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले हिजो पन्जाब किंग्सलाई ५० रनले हराएको छ। जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो।

पन्जाबले २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर प्रियान्स आर्या इनिङ्सको पहिलो बलमा जोफ्रा आर्चरको बलमा आउट भए। कप्तान श्रेयश अयर १० रनमा पबिलियन फर्किए। लगतै १ रन बनाएका मार्कस स्टोनिसलाई सन्दीप शर्माले कट एण्ड बोल्ड आउट गरिदिए।

चौथो विकेटको रूपमा प्रबसिमरन सिंह १७ रनमै आउट हुन पुगे। यतिखेर पन्जाबले ४३ रन बनाएको थियो। यसपछि नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि ८८ रनको साझेदारी गरे। म्याक्सवेल ३० रनमा आउट भए। नेहाल वादेराले अर्धशतकीय पारी खेले। ४१ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६२ रनमा नेहाल पनि आउट भए।

राजस्थान रोयल्सका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट महिश थिक्साना र सन्दीप शर्माले समान २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो। ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटको लागि ८९ रनको साझेदारी गरे। पहिलो पावर प्लेमा राजस्थानले ५३ रन बनाएको थियो। पन्जाबले १० ओभर २ बलमा पहिलो विकेट लियो। लोकी फर्गसनले ३८ रन बनाएका सञ्जुलाई आउट गरे।

यशस्वीले ४० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको यो सिजनको पहिलो अर्धशतक हो। ६७ रन जोडेर उनी पनि फर्गसनकै बलमा आउट भए। उनले ४५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। यसपछि नितिश राना १२ रनना र सिम्रन हेटमेर २० रनमा आउट भए। रियान परागले २५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४३ रनको पारी खेले। ध्रुव जुरेलले मात्र ५ बल खेल्दै १ चौका र१ छक्काको मद्दतमा अविजित १३ रन बनाए।

बलिङमा लोकी फर्गसनले ४ ओभर बलिङ गर्दै ३७ रन उिएर २ विकेट लिए। मार्को जेनसेन अर्शदीप सिंहले समान १ विकेट झारे।

जीतसँगै राजस्थान चार खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ। तीन खेलमा चार अङ्कसहित पञ्जाब चौथो स्थानमा छ।