आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती। आजको दिन बुद्ध जन्मिएका थिए। आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए।

बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ। बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन्। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। 

बुद्धको जन्म ईशापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ।

जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ। यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन्। राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो। उमेर बढ्दै गर्दा मानिसका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्केका हुन्।

सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारलाई दुःखमय जाने। त्यही दुःखमुक्तिको उपाय खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनलाई मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो।

दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए। 

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए। ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे। 

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन्। विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा समेत भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ। 

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो। यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उहाँका शिष्यहरूले उहाँका उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो। त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरूको सविस्तार वर्णन छ। त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसूत्र संगृहीत छन्। बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो।

प्रतीत्य समुत्पादको सिद्धान्त भन्दछ- कुनै पनि घटना केवल दोस्रो घटनाहरूका कारण नैं एक जटिल कारण-परिणामका जालमा विद्यमान हुन्छ। प्राणीहरूको लागि, यसको अर्थ छ- कर्म र विपाक (कर्मका परिणाम)का अनुसार संसारको चक्र छैन। किनभने सबै केही अनित्य र अनात्म (विना आत्माको) हुन्छ, कुनै पनि कुरा सच्चाइमा विद्यमान छैन।

हरेक घटना मूलतः शून्य हुन्छन्। परन्तु मानिसमा ज्ञानको शक्ति छ, उनीहरूले तृष्णालाई दुःखको कारण भन्ने जानी त्यसलाई त्यागेर, तृष्णामा नष्ट भएको शक्तिलाई ज्ञान र ध्यानमा बदलेर, निर्वाण पाउन सक्छन्। यसरी अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ।

बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ। २००८ जेठ ८ गतेदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *