बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सूपप्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान साढे पाँच बजे दुर्घटनामा परेको हो।
दुर्घटना परी मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
त्यस्तै दुर्घटनमा परी अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उहाँकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। घाइतेमध्ये राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।
शनिबार बिहान ५:३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन।
