नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। शुक्रबार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ।
‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ’, प्राधिकरणले भनेको छ।
यो निर्देशनपछि अब नेपाल टेलिकम, एनसेल लगायत मोबाइल डाटा सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राम चल्न नमिल्ने बनाउनुपर्नेछ । यो निर्णयसँगै अब नेपाली प्रयोगकर्ताहरूले सामान्य तरिकाले टेलिग्राम प्रयोग गर्न पाउने छैनन् ।
