सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्याएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो।
अबदेखि श्रमिकको न्यूनतम पारिश्रमिकमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ताको रूपमा उपलब्ध हुनेछ। यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ मात्र थियो। नयाँ संरचनाअनुसार श्रमिकको तलब २ हजार २५० रुपैयाँले बढेको हो।
त्यस्तै, प्रतिघण्टाका हिसाबले हेर्दा नयाँ न्यूनतम पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ। यसमध्ये आधारभूत ६३ रुपैयाँ र महँगी भत्ता ३८ रुपैयाँ तोकिएको छ। आंशिक वा घण्टे काम गर्ने श्रमिकहरूलाई सोही दरअनुसार पारिश्रमिक दिइनेछ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि पनि नयाँ दर लागू गरिएको छ। अब दैनिक ज्यालामा न्यूनतम ७५४ रुपैयाँ पाउनेछन्, जसमा आधारभूत ४७० र महँगी भत्ता २८४ रुपैयाँ समावेश छ।
चिया बगान क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक भने सरोकारवाला निकायहरूसँग थप छलफलपछि निर्धारण गरिने जनाइएको छ।
