भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ। जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा एक सय २७ रनमा सबै विकेट गुमायो।

बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए। प्रभेज हसन इटनले २१ रन बनाउँदा अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बरुण चक्रवर्तीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराहले २, तिलक बर्मा र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए।ननस्ट्राइकबाट एक रन लिन पिचको मध्य भागमा पुगेपनि ब्याकवार्ड प्वाइन्टका फिल्डर रिसाद हसनले बलर मुश्तिाफिजुर रहमानलाई सिधैं बल थ्रोको मार्फत दिएपछि सूर्यले रन लिन नमान्दा अभिषेक रन आउट हुन पुगेका थिए।

अभिषेक रन आउट हुँदा भारत ११.१ ओभरमा ११२-१ को मजबुत अवस्थामा थियो। तर मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा विशाल योगफल बनाउन चुकेको थियो। भारतले सुरुवातमा बंगलादेशलाई केही हल्कारुपमा लिदै आफ्ना ब्याटरलाई अनावश्यक ब्याटिङक्रम परिवर्तन गरेको थियो। उक्त निर्णय भारतलाई मध्यक्रममा भारी पर्यो।

भारतलाई ओपनर अभिषेक र शुभमन गिलले ६.२ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। रिसादको बलमा ठूलो सट खेलेका गिल तान्जिम हसन सकिबबाट आउट हुनुअघि १९ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए। तेस्रो नम्बरमा आएका दुबे रिसादलाई नै ठूलो सट खेल्ने धुनमा २ रनमा क्याच आउट हुन पुगेका थिए। कप्तान सूर्य कुमार र तिलक बर्मा ५-५ रनमा आउट भए।

हार्दिक पान्ड्या २९ बलमा ४ चौका र १ छक्कासहित ३८ तथा अक्षर पटेल १५ बलमा १० रनमा अविजित रहे। बंगलादेशका रिसाद हसनले २, तान्जिम हसन सकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले १-१ विकेट लिए।

सुपर ४ मा यसअघि भारतले पाकिस्तान तथा बङ्गलादेशले श्रीलङ्कालाई हराएको थियो। प्रतियोगितामा आज पाकिस्तान र बङ्गलादेश भिड्दै छन् । यो खेल बेलुकी सवा आठ बजे दुबई रङ्गशालामा हुनेछ। भारतले अन्तिम खेल भोलि श्रीलङ्कासँग खेल्नेछ । श्रीलङ्का भने फाइनल दौडबाट बाहिरिसकेको छ।