नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ।
नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुने यो भिडन्त संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा हुनेछ।
पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो। वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो।
तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ। शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ।
