तस्वीर : क्यान

नेपाल क्रिकेट सङ्घ(क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आयोजनामा आउँदो बुधवारदेखि ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दिप लामिछाने, कुशल भुर्तेल,करण केसी, कुशल मल्ल, सोमपाल कामी, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, ललित राजवंशी, गुलशन झा , आरिफ शेख र लोकेश बम छन्।

संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोलीले भर्खरै युएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको सिरिज जितेको छ। तीन खेलमध्ये दुईमा नेपाल विजयी भएको थियो। वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।

वेस्ट इन्डिजसँगको सिरिज हात परेपछि नेपाली टोली युएईबाट विश्वकप छनौट खेल्न ओमान पुगिसकेको क्यानले जनाएको छ।