नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ। नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो।

आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो।

तेस्रो पटक विश्व कपको यात्रा तय गर्दा नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्व कप खेल्दैछ। साथै नेपालले आईसिसीद्वारा आयोजित प्रतियोगिताको अहिलेसम्मकै ठूलो उपाधि जितेको हो।

ओमानकाे अल अमिरात मैदानमा आज भएकाे छनाेटकाे अन्तिम खेलमा नेपालले सामाेआलाई‌ १ सय २४ रनले हरायाे। नेपालले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे सामाेआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे। सामोआका सिन सोनियाले सबैभन्दा धेरै ४० रन बनाए। नेपालका ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो। नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफकाे यो व्यक्तिगत सर्वाधिक रन हाे। यसअघि उनले वेस्ट इन्डिजसँगकाे खेलमा ६८ रन बनाएका थिए। यस्तै लाेकेश बमले ३९, कप्तान राेहित पाैडेलले २१ रन बनाए। सामाेआका डारियस भाइसर, ड्यानियल बुर्गेस, सौमानी टियाई, नोया मियाडले १/१ विकेट लिए।

सुपर–सिक्समा नेपाल ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा रह्याे। यस्तै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रह्याे। यूएई ५ खेलमा ६ अङ्कसहित तेस्राे स्थानमा रह्याे।

नेपालले तेस्रो पटक विश्व कप खेल्दैछ। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो। यसपछि २०२४ मा नेपालले अमेरिका र वेस्ट इनमडिजमा भएको विश्व कप खेलेको थियो।

यो छनोटबाट यसै वर्ष माघ २४ देखि फागुन २४ गते सम्म हुने टि-२० विश्वकपका लागि नेपालसँगै ओमान र युएई छनोट भएका छन्।‌