जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकले जनाएको छ।

अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो। सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए।

सरकारवादी मुद्दा भएकोले अधिवक्ता मनीषा गौतमको तर्फबाट सरकारी वकिल कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेको अदालतले जनाएको छ।

सुनारले अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्ट्याटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा गौतमले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्युरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो। अनुसन्धानका क्रममा सुनार फरार रहेकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो। उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रूपमा दर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *