बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ। सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज भएको हो।

महोत्तरी जिल्लाको बर्दिवासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो। उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।

गत वर्षको विनासकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर पुगेको थियो। विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्ण रुपमा क्षति भएको थियो।

सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच हस्ताक्षर भयो।

कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको महत्त्वपूर्ण प्रतिक भएको बताए। जापानी राजदूत माएदाले यो सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भागहरु पुनःस्थापना गर्न सहयोग पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *