कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना व्यक्ति र एउटा निजी विद्यालय विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सामुदायिक विद्यालयको भवन कानून विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो।

पोखरा महानगरपालिका वडा नं. १ काे पुरानो टुँडिखेलको झन्डै ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणा, पोखरा महानगरपालिका–१ वडाध्यक्ष शाहारा प्रधानलगायत सदस्यहरूका साथै निजी बोर्डिङ स्कूल सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कूललाई भाडामा दिएको पाइएको अख्तियारको दाबी छ।

पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गराउन भएको निवेदनपछि पनि अटेर गरी १५ लाख २९ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ। अख्तियारले हरेक व्यक्तिविरुद्ध १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *