लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले अफ’मा स्थान बनाउन सफल भएको छ। आज (शुक्रबार) भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले ‘प्ले अफ’मा स्थान बनाएको हो।
जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलल ३४, डी आर्स सर्ट ३० र जेजे स्मिथले २१ रन बनाए। जनकपुरका सङ्गीत कुेरले ३, मायान यादवले समान २ र सञ्जय कृष्णमूर्तिीले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो। जनकपुरका सङ्गीत कुरेले ४५, मयन यादवले २७ रन बनाए। दुबै खेलाडी नटआउट रहे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए।
लुम्बिनीले ७ मध्ये ४ खेल जितेर ८ अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। जनकपुर ६ मध्ये १ खेल मात्र जितेर २ अङ्कसहित तालिकाको पुछार रहँदै ‘प्ले अफ’ समीकरणबाट बाहिरिएको छ।
लिग चरणको अन्तिम खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्दैछ। यस्तै लुम्बिनीकाे जीतसँगै पाेखरा एभेञ्जर्स र चितवन राइनाेज पनि ‘प्ले अफ’ समीकरणबाट बाहिरिएका छन्।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा पुगेका छन्।
