दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। बुधबार विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै तेस्रो जित निकालेको हो।
यसअघि चितवन राइनाेज र पोखरा एभेन्जर्सविरुद्ध लुम्बनीले जित निकालेको थियो। लुम्बिनीले खेलेका ६ खेलमध्ये ३ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बुधबारको खेलमा विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो।
लुम्बिनीका लागि डार्सी सर्टले ५७, निरोसन डिकवेल्लाले नटआउट २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ रन बनाएका थिए। विराटनगरका सन्दीप लामिछाने र सुबाश भण्डारीले समान २ तथा जर्ज मुन्सेले १ विकेट लिए।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन बनाएका थिए। लुम्बिनीका लागि शेर मल्लले ३, जेजे स्मिट, अभिशेष गौतम र रुबेन ट्रम्पेलमनले समान १/१ विकेट लिएका थिए।
यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा ८ वटा टोली सहभागी छन्।
