दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो।
बिहीबार बिहान करिब ३ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा २२ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो।
घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाएको र उनीहरुको उपचार भइरहेकोमा दुई जनालाई थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो।
बसमा ३८ जना सवार थिए। प्रहरी निरीक्षक पाण्डेयका अनुसार पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयानका क्रममा बस चालकले बयान दिएका छन्। बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
