प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। सरकार बनेको करिब चार महिनामा परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो।
उनलाई आज दिउँसो २ बजे शपथ गराउने जानकारी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार शपथका लागि कार्यालय तयार छ। तर, अहिलेसम्म नियुक्त गरिएको आधिकारिक पत्र भने प्राप्त भइसकेको छैन।
उनलाई रक्षा र परराष्ट्रको जिम्मेवारी दिनेगरी कुरा भइरहेको छ। अहिलेसम्म यी दुवै मन्त्रालय प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी छिन्। शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकू समायोजन गर्ने विशेष समितिको सचिवालय संयोजकका रुपमा काम गरेका थिए।
तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा कोभिड–१९ को महामारीको बेलामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए। पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए।
