नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्।

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

‘सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ। केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको छ, त्यही उक्त राजीनामाबारे छलफल हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने।

सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको क‍ेन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ। 

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए। चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए।

कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

तत्कालीन सभापति देउवा र उनको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए ।

पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *